FAQs Complain Problems

संक्षिप्त परिचय

तुर्माखाँद गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२.०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ ।

भौगोलिक अवस्थिति
समुन्द्री सतहका करिब ५५० मिटर देखि १९०० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ४४ मिनेट ४० सेकेण्ड देखि २९ डिग्री १ मिनेट ३९ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री १७ मिनेट ५४ सेकेण्ड देखि ८१ डिग्री ३५ मिनेट ५ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका अछाम जिल्लाको जिल्ला सदरमुकाम मंगलसेन देखि करीब ५५ किमीको दुरीमा पूर्वी भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा दैलेख जिल्ला, पश्चिममा ढकारी गाउँपालिका, उत्तरमा कमल बजार नगरपालिका र दक्षिणमा सुर्खेत जिल्ला रहेको छ ।

ऐतिहासिक चिनारी तथा नामाकरण
नव गठित स्थानीय तह तुर्माखाँद साविकका ७ वटा गाविसहरु रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली मिलेर वनेको हो । यस गाउँपालिका ऐतिहासिकरुपले दैलेखसँग सामिप्यता राखेको पाइन्छ । भने भाषिक प्रभाव पनि दैलेख सँग मिल्दोजुल्दो छ । तुर्माखाँद गाउँपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय जानकार व्यतिहरुका अनुसार हाल बजार रहेको यस तुर्माखाँद क्षेत्रमा धेरै समय पहिला तम्माखु खाने मानिसहरुको जमघट हुने गर्दथ्यो । अछामी भाषामा तम्माखुलाई तम्मु भनिने र डाँडामाथी सम्म परेको स्थानलाई खाँद भनिने हुनाले तम्मा र खाँद मिलेर तुर्माखाँद रहन गएको हो ।यहि स्थानको नामबाट तुर्माखाँद गाविसको नामाकरण भएको र स्थानीय तह पुर्नसंरचना हुँदा गाउँपालिकाको नामाकरण समेत तुर्माखाँद हुन गएको देखिन्छ ।